प्रधानमन्त्री ओलीलाई वामदेव गौतमको चुनौती-भ्वाइस रेकर्ड सार्वजनिक गरियोस्

प्रधानमन्त्री ओलीलाई वामदेव गौतमको चुनौती-भ्वाइस रेकर्ड सार्वजनिक गरियोस्


काठमाण्डु-राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गर्ने कोशिस गरेको दाबी गरेका छन् । गौतमले विषयलाई तोडमोड गरेर ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको बताएका छन् ।

केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको ओलीले जिकिर गरेका थिए । गौतमले सोमवार विज्ञप्ति जारी गर्दै आफूले ओलीलाई नभएर ओलीका स्वकीय सचिव राजेश शाक्यलाई फोन गरेको दाबी गरेका छन् ।

ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् । गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्यसबारे कुरा गर्न ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको उल्लेख गरेका छन् ।

‘ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोसिस गरेका छन’, गौतमले भनेका छन् ।

‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ । त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नुभयो र सदा झैँ नमस्कार कमरेड भन्नुभयो,’ वक्तव्यमा भनिएको छ ।

राजेशसँग यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौतमले फोन नम्बर राजेश कै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको बताएका छन् ।

‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन । क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले ओलीलाई सम्बोधन गरेर लेखेको जवाफमा उल्लेख छ ।