काठमाण्डु- थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच बुधबार राजधानी बैंककमा भेटवार्ता भएको छ ।
त्यस क्रममा दुई देशबीच संस्कृति र पर्यटन क्षेत्रसहित विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै दुई देशका संस्थाबीच ६ सहमतिपत्र आदानप्रदान गरिएको छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सल्लाहकार विष्णुप्रसाद रिमाल, डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र सचिव अमृतबहादुर राई, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत उपस्थित थिए ।
त्यसअघि थाइ प्रधानमन्त्री शिनावातले सरकारी भवनमा ओलीलाई स्वागत गरेकी थिइन् ।
त्यसपछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुबै सरकार प्रमुखले विभिन्न क्षेत्रमा सहकार्यलाई जोड दिने बताएका छन् ।
यसैबीच थाइ प्रधानमन्त्री शिनावातले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । उनले बुधबार नै थाइ नरेश महा बजिरालोङकर्नसँग भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक पुगेका थिए।
थाइल्यान्डका प्रधानमन्त्री शिनावातकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।


प्रतिक्रिया