नेकपामा प्रचण्ड जुनियर, केपी ओली सिनियर अध्यक्ष !

नेकपामा प्रचण्ड जुनियर, केपी ओली सिनियर अध्यक्ष !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सिनियर अध्यक्ष भएको दाबी गरेका छन् । उनले प्रचण्डको बढुवा नभएको र भूमिकाको वृद्धिसमेत नभएको प्रष्ट पारेका हुन् ।

उनले कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा भनेका छन्, ‘हिजो मैलेमात्रै बैठकको अध्यक्षता गर्ने गर्थें, अब मैलेमात्रै अध्यक्षता गर्ने ठाउँमा (कमिटीका बैठकमा) उहाँले अध्यक्षता गर्नुहुन्छ । कहिलेकहिले मन लाग्यो भने मैले पनि गर्छु ।’

उनले कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा सोमबार बेलुका आफूमा निहीत अधिकार प्रचण्डमा सरेको नभइ दुई अध्यक्षको कार्य्विभाजन मात्रै भएको बताए ।

अन्तर्वार्ताको दौरानमा अध्यक्ष ओलीले पटकपटक आफू ‘(सिनियर) पहिलो वरीयताको अध्यक्ष’ भएको बताएका छन् । ‘पार्टीमा अलिकति सिनियर र जुनियर हुन्छ । म सिनियर अध्यक्ष हुँ,’ उनले भनेका छन् ।

विधानमा के लेखिएको छ ?

नेकपाको अन्तरिम विधानको दफा १८ ले अध्यक्षद्वयलाई सातवटा समान अधिकार प्रत्यायोजन गरेको छ । विधानले तोकेको परिभाषित जिम्मेवारीअनुसार अध्यक्षद्वयले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्नेछन् । पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्नेछन् ।

केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने–गराउने दायित्व दुवै अध्यक्षको रहेको छ । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने र गराउने दायित्व पनि अध्यक्षद्वयकै छ ।

केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य पनि अध्यक्षद्वयले आपसी परामर्शमा सम्पादन गर्नेछन् ।

दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको संयुक्त रूपमा अध्यक्षता गर्न सक्नेछन् । अथवा आपसी सल्लाहमा दुईमध्ये एकले र बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्न सक्नेछन् ।

अन्तर पार्टी निर्देशन र सर्कुलर जारी गर्ने सन्दर्भमा पनि विधान प्रष्ट छ । अन्तरिम विधानमा पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्न सक्ने व्यवस्था छ ।