प्रधानमन्त्री असार पहिलो साता चीन जाने

प्रधानमन्त्री असार पहिलो साता चीन जाने


काठमाडौं-प्रधानमन्त्री केपी ओली असार पहिलो साता चीन भ्रमणमा जाने गरी तयारी सुरु भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को सम्मेलनपछि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्ने सन्देश चीनले पठाएको छ ।

प्रधानमन्त्रीले ३० वैशाखमा संसद्लाई सम्बोधन गर्दै छिटै चीन जाने घोषणा गरेका थिए । ओलीले यसअघि ०७२ चैत पहिलो साता चीन भ्रमण गरेका थिए ।

२६ र २७ जेठमा चीनले एससिओको सम्मेलन आयोजना गर्दै छ, जहाँ राष्ट्रपति सी जिनपिङ सहभागी हुनेछन् । प्रधानमन्त्री ओली पनि १५ जेठमा बजेट ल्याएपछि चीन जान चाहन्छन् ।

‘जेठ २४ देखि २६ सम्म प्रधानमन्त्री ओली बेइजिङमा रहने गरी चीन भ्रमणका विषयमा छलफल भएको थियो, तर त्यो मितिमा चिनियाँ नेतृत्वको समय मिल्ने अवस्था छैन,’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘त्यसकारण समय मिलाएर असारको पहिलो साता भ्रमण हुन सक्ने अवस्था छ ।’

प्रधानमन्त्रीलाई कूटनीतिक मामिलामा सल्लाह दिँदै आएका नेकपाका नेता डा. राजन भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने निश्चित भए पनि मिति टुंगिन बाँकी रहेको बताए ।

‘भ्रमणको मिति तय भएको छैन, बजेट (जेठ १५)पछि मात्रै उहाँ चीन जाने निश्चित हुनेछ,’ उनले भने । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीबारे परराष्ट्र मन्त्रालयले चीनको सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।