बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, सभामुख टुंगो लगाउने तयारी

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, सभामुख टुंगो लगाउने तयारी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल जारी  छ ।

आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो ।

ओली र प्रचण्डबीचको छलफल सभामुख चयनको विषयमा केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

सभामुखमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच अझै सहमती जुट्न सकेको छैन । सम्भवतः आजको बैठकले सभामुखको नाम टुंग्याउने स्रोतको दाबी छ ।

सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच गएको बिहीबार र शुक्रबार पनि छलफल भएको थियो ।

सभामुखमा पूर्व एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङ दाबेदार छन् । वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । पूर्व माओवादी खेमाबाट अग्नी सापकोटा, पम्फा भुसाल, हरिबोल गजुरेल लगायतको नाम पनि चर्चामा छ ।

भोली (सोमबार) बस्ने प्रतिनिधिसभा बैठकले सभामुख चयन प्रक्रिया सुरु गर्ने दाबी नेकपाका नेताले गर्दै आएका छन् ।