सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै


काठमाण्डु-नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

१९८१ साल पुस ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन विताएका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

बालुवाटार प्रवेश र त्यहाँबाट फर्किदा निकै तामझाम देखाउने नेताहरुको भीडमा भट्टराई प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएर बाहिरिएका थिए ।

नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको हो । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याएपछि गरी उनले दुई पटक प्रधानमन्त्रीको रुपमा मुलुकलाई नेतृत्व प्रदान गरे ।