काठमाण्डु- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजावादीहरू अहिले छटपटाइरहेको टिप्पणी गरेका छन्।
‘पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको सिटौलाले टिप्प्णी गरे । झापामा आइतबार बोल्दै नेता सिटौलाले भने, ‘यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफैँ निम्त्याउन नखोज्नुहोस्।’ उनले यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्न राजावादीलाई उनले सुझाव दिए।
सिटौलाले पूर्व राजा ज्ञानेन्द्रलाई पनि अरूको उक्साहटमा नलाग्न सुझाव दिए। उनले भने, ‘तपाईँ उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लगेर फाल्ने छन्।’ फेरि राजा बन्छु भन्ने कल्पना पनि नगर्न पूर्वराजालाई उनले सुझाव दिए।
ज्ञानेन्द्र शाह पूर्व राजा मात्र नभएर अन्तिम राजा पनि भएको उनले बताए। ज्ञानेन्द्रलाई सम्मानपूर्वक आफ्नो ठाउँमा शान्त भएर बस्न र जनताको सेवामा लाग्न उनले सुझाव दिए। लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको देशमा भत्ता, सत्ता, मन्त्रीलगायत सारा पद लिएका व्यक्ति पनि राजा चाहियो भनेर ढलेको दरबारको चाकडी गर्न पछि नहटेको उनले बताए।
राजाहरूको पालामा अवसर नपाएका समुदायका व्यक्ति पनि अहिले देशको ठूलो ठाउँमा पुग्न सफल भएको उनले बताए।
प्रतिक्रिया