वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्न परराष्ट्रमन्त्री महराले चाले कडा कदम

वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्न परराष्ट्रमन्त्री महराले चाले कडा कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताउनुभएको छ ।
    
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उहाँले राज्यका निकाय एवम् विदेशस्थित नियोगलाई एकीकृत ढङ्गबाट परिचालन गरेर तत्कालको समस्या सम्बोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको समस्यालाई बुझेर वैदेशीक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ ।”
    
मन्त्री महराले आफू श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर समस्याको समाधान गर्न लागि गरेको स्पष्ट पार्नुभयो । उहाँले परराष्ट्र, गृह, अर्थ र श्रममन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिँदै श्रमीकका समस्यालाई तदारुपताका साथ परिणामुखी बनाउने विश्वास दिलाउनुभयो । मन्त्री महराले भन्नुभयो, “श्रमीकका विषयमा सरकार संवेदनशील र  गम्भिर छ ।”

मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढङ्गबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खाडी राष्ट्रका कूटनीतिक नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको  जानकारी गराउनुभयो ।

त्यसैगरी उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुने गरी  मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने बताउनुभयो ।

तत्काल श्रमिक फिर्ता गर्न नसकिएपनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै मन्त्री महराले त्यस कार्यका लागि सरकारले गम्भिररुपमा पहल गर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कुटनीतिक सम्बन्ध अझ सबल गराउने बताउँदै उहाँले सरकारी तहमै श्रम सम्झौता गरेरमात्र श्रमिक पठाइने बताउनुभयो । मन्त्री महराले तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भइ समस्याको समाधान हुन्छ ।” मन्त्री महराले नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइने बताउनुभयो ।

दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उहाँले आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकोले त्यसलाई निरन्तरता दिने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन सक्दैन– मन्त्री महराले भन्नुभयो,“सकारात्मक लक्ष्य प्राप्तिका लागि निरन्तर पहल गर्नुपर्छ ।” बैठकमा गृहमन्त्री जनार्दन शर्मा र श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरको सहभागिता थियो ।