काठमाडौं– नेपाल विद्युत प्राधिकरणले रत्नपार्क र महाराजगन्जको वितरण प्रणाली भूमिगत बनाउन भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई ठेक्का दिएको छ । प्राधिकरणले पहिलो चरणमा २ स्थानको वितरण लाइन भूमिगत बनाउन दोस्रो पटक आह्वान गरेको प्रक्रियाबाट छनोट गरिएको हो । बोलपत्रको नतिजा सार्वजनिक गरेर छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि उपस्थित हुन पत्राचार गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए ।
उनका अनुसार भारतीय कम्पनीले सूचना जारी भएको मितिले २८ दिनभित्र कार्यासम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि उपस्थिती जनाउनु पर्नेछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर ९करिब २ अर्ब ८९ करोड ८५ लाख ९७ हजार १२ रुपैयाँ० र र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता गरिनेछ ।
रत्नपार्क वितरण केन्द्रको प्रणाली भूमिगत बनाउन कम्पनीले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख अमेरिकी डलर ९करिब २ अर्ब ६० करोड ३० लाख ४५ हजार ५ सय १९ रुपैयाँ ० र ८३ करोड १५ लाख रुपैयाँमा ९करबाहेक० ठेक्का सम्झौता गरिने प्राधिकरणले जनाएको छ ।
ठेक्का सम्झौता सम्पन्न गरेर आउने जेठबाट वितरण लाइन आयोजनाको काम सुरु हुने पनि अधिकारीले बताए । भारतीय कम्पनीले ठेक्का कार्यान्वयनमा आएको मितिले ३० महिनाभित्र लाइन निर्माणको काम पूरा गर्नु पर्नेछ । प्राधिकरणले पहिलो पटकको ठेक्का प्रक्रियामा अनुमानित लागत भन्दा महंगो दरको आवेदन परेपछि रद्ध गरेर दोस्रो पटक गत कात्तिक ११ गते आह्वान गरेको थियो ।
पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने बागबजार, असन, दरबारमार्ग र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, गंगबु, सामाखुसीलगायत स्थानको वितरण प्रणाली प्राधिकरणले भूमिगत बनाउनेछ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान तथा सञ्चालन गर्नुपर्नेछ । पहिलो चरणमा ११ केभी र ४ सय भोल्टको प्रणालीलाई भुमिगत र अटोमेसन गरिनेछ ।
दुई वितरण केन्द्रको वितरण प्रणाली भूमिगत बनाई ९० हजार घरमा स्मार्ट प्रविधिको मिटर जडान हुनेछ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइन बनाइ स्मार्ट मिटर प्रविधि जडान गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया