काठमाण्डु-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन महिनाको समय दिएर उद्योगमा काटिएको लाइन जोडिएको र त्यो अवधिमा नतिरे फेरि लाइन काटिने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र वक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौँ । त्यतिबेलासम्म पनि उद्योगले बुझाउनुपर्ने पैसा बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ,’ उनले भने ।
उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए । ‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ अन्त्य भएपछि पनि तिरिरहेका छ्न् । १७४ उद्योगले तिरेका छन् । वक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ,’ उनले भने ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको बताए । ’हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ,’ उनले भने ।
प्रतिक्रिया