१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने कुलमानको चेतावनी

१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने कुलमानको चेतावनी


काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी निर्देशक घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताए ।

घिसिङले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए। तर, १५ दिनभित्र बक्यौता नतिरे प्रक्रिया अनुरुप फेरि लाइन काटिने उनले बताए ।

‘कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ। अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं। १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुपर्छ। नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ । लाइन काट्छौँ,’ घिसिङले भने।

जनतालाई अध्यारोमा राखेर उद्योगमा ग्रयोग गर्न दिएको विजुलीको बक्यौता कानुनसम्मत रूपमा जसरी पनि उठाउने उनले बताए । लाइन काट्ने र जोड्नेतिर नलागी यसको समाधानतिर लाग्नुपर्ने उनको भनाइ थियो ।