काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेसभित्र तिव्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्दै हितमान शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय पछि कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला र महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले विरोध जनाएका छन् ।
कोइरालाले सरकारको निर्णयको सामाजिक संजाल एक्समा विरोध गर्दै ओली सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको बताएका छन् । उनले भनेका छन् ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’
त्यस्तै अर्का महामन्त्री शर्माले पनि कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । उनले यो निर्णय सही नभएको भन्दै घिसिङलाई बांकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको दावी गरेका छन् ।
सरकार चलाउने दुई दलीय संयन्त्रमा रहेका अर्का महामन्त्री थापाले पनि घिसिङ हटाउने निर्णयको चर्को विरोध गरेका छन् । उनले मन्त्रीहरूले बाटो बिराउंदा प्रधानमन्त्रीले समाल्नुपर्ने भन्दै तर,त्यसो नभएको भन्दै सरकारी निर्णयको विरोध गरे ।
थापाले उल्टो बाटो हिंडेर सही गन्तव्य पुग्न नसकिने भन्दै एक्समा लेखेका छन् ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? ’
प्रतिक्रिया