काठमाण्डु – कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेश लोन फर आईटी कम्पनेन्स्’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंकमार्फत आईटी क्षेत्रका कम्पनीका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेश लोन फर आईटी कम्पनेन्स्’को पोर्टफोलियो सुरक्षण गर्नेछ । सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न कोसेढुंगा हुने विश्वास दुवै पक्षको छ ।
कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकतालाई बुझ्दै आवश्यक बैंकिङ सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
‘कुमारी बैंक लिमिटेडले नेपाल एशोसिएशन अफ सफ्टवेयर एण्ड आईटी सर्भिस (एनएएस–आईटी) सँग साझेदारीमा काम गर्दै आएको छ, जसअन्तर्गत बैंकले एनएएस–आईटी सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ,’ बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । बैंकले प्राविधिक विशेषज्ञतामार्फत आईटी कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको यूएसएआईडी ट्रेड एण्ड कम्पिटेटिभनेससँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटीएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता बैंकले जनाएको छ ।
प्रतिक्रिया