भारतले नेपालमा विस्तृत प्रतिरक्षा रणनीति अपनाउनु पर्ने पूर्वराजदूत केभी राजनको सुझाव

भारतले नेपालमा विस्तृत प्रतिरक्षा रणनीति अपनाउनु पर्ने पूर्वराजदूत केभी राजनको सुझाव

वर्तमान सरकारमा भारतविरोधी गतिविधि नहुने विश्लेषण


काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले काठमाडौंमा अहिले एक पछि अर्को राजनीतिक नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन् ।

संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछि नेपाल अझै संक्रमणकालमा रहेको र नेपालमा राजनीति अराजकता देखिएको पूर्वराजदूत राजनले उल्लेख गरेका छन् ।

भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक टाइम्स अफ इन्डियामा आइतबार प्रकाशित अतुलकुमार ठाकुरसँगको संयुक्त आलेखमा लेखिएकाे छ ‘बारम्बारको सरकार परिवर्तन, गठबन्धन साझेदारहरूको अवसरवादी प्रवृत्ति, व्यापक भ्रष्टाचार र चीनको बढदो प्रभाव नेपालको राजनीतिक अस्थिरताको कारक तत्व हो ।’

अहिलेको शृङ्खलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेससँग अलग्गिएर पूर्वकम्युनिष्ट सहयोगी केपी शर्मा ओलीसँग नयाँ गठबन्धन बनाएको केही दिनमै फेरि पनि गठबन्धनका साझेदार पक्ष परिवर्तन भएको आलेखमा उल्लेख छ ।

‘प्रचण्डको माओवादी केन्द्र मात्र ३२ सिटका साथ तेस्रो स्थानमा छ र उनी आफ्नो रणनीतिक राजनीतिक छलाङका लागि परिचित छन् । तर, यसपटक भने उनी नराम्ररी पछारिएका छन,’ नेपालस नेभर इन्डिङ पावर फ्लिप्स, एन्ड ह्वाइ इन्डिया निड्स अ न्यू स्ट्राटेजी’ शीर्षकमा प्रकाशित आलेखमा राजन र ठाकुरले लेखेका छन् ।

उनीहरूले पूर्ववर्ती सरकार ढल्नु अघिको अन्तिम समयमा क्याबिनेटबाट चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत रेल्वे परियोजना स्वीकृत गरेको र त्यसअघि १०० रुपैयाँ दरको नोटमा भारतीय सीमा क्षेत्रका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राख्ने निर्णय गरेको जनाएका छन् ।

नेपाली कांग्रेस समेतको वर्तमान सरकारमा भारतविरोधी गतिविधि नहुने अपेक्षा गरिएको राजन र ठाकुरको विश्लेषण छ । ‘ओलीलाई अक्सर भारतविरोधी देखाउने गरिएको छ । तर, नेपालमा त्यसविपरीतका कारणले उनको आलोचना हुने गरेको छ,’ आलेखमा उल्लेख छ ।

नेपालको राजनीतिक अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्तालाई अप्ठ्यारो अवस्था र यसको शोषण विदेशी खेलाडीले गर्न सक्ने वास्तविक सम्भावना रहेको उनीहरूले जनाएका छन् ।

प्रचण्ड र ओली दुवैले चीनलाई प्रयोग गरेको वा चीनले नै उनीहरूलाई प्रयोग गर्ने अनुमति दिएको आलेखमा उल्लेख छ । यसले गर्दा भारतले पछिल्ला वर्षमा तीव्र किठनाइ भोग्नुपरेको आलेखमा जनाइएको छ ।

चीनको एउटै मिसन भनेको नेपाललाई भारतविरोधी, पश्चिमाविरोधी र नयाँ अनिश्चित विश्व अर्डरमा परनिर्भर ‘राडार’मा राख्नु रहेको आलेखमा चर्चा गरिएको छ ।

चीनको प्रस्ट रणनीतिक आशयका विषयमा भारतले विस्तृत प्रतिरक्षा रणनीति ल्याउनुपर्ने सुझाव समेत उनीहरूले दिएका छन् ।

राजनको हालै ‘काठमाडौँ क्रोनिकल रिक्लेमिङ इन्डिया–नेपाल रिलेसेन्स’ नामक पुस्तक प्रकाशन भएको छ । ठाकुर सह–लेखक रहेको पुस्तकमा पछिल्लो समय चीनले नेपाललाई भारत विरुद्ध प्रयोग गरिरहेको उल्लेख छ । ‘चीन नेपालमा तिब्बतलाई लिएर मात्र चिन्तित छ भन्ने होइन र तिब्बतकै कारण नेपाललाई हेर्न चाहेको छ । आफ्नो गहिरो रणनीतिक स्वार्थका कारण उसले नेपाललाई प्रयोग गर्न चाहेको छ । यसको मतलब भारतको विरुद्धमा जुन विदेशी शक्तिहरू छन्, उनीहरूले नेपाललाई प्रयोग गर्न सक्छन् र गरिरहेका छन्’ पुस्तकमा उल्लेख छ ।

नेपालले नयाँ नक्सा पारित गरेको र त्यो नक्सालाई एक सय रुपैयाँको नोटमा राख्ने निर्णय भएकाले यसबाट नेपाल–भारतबीचको सीमा विवाद कहिले समाधान नहुने पुस्तकमा उल्लेख छ ।