यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी…

यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी…


काठमाण्डु–आज जनै पूर्णिमा  । जनै पूर्णिमा भनिसक्दा नेपाली समाजमा क्वाँटी खाने दिन भनेर पनि बुझिन्छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ ।

नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।

टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ । क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन् ।

क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ । क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् ।

शाकाहारी क्वाँटी बनाउने तरिका क्वाँटी कसरी बनाउने

क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन्। कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन्। कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन्।

आवश्यक सामाग्री

टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम

ज्वानो– १० ग्राम

सुप– ५ ग्राम

तोरी– ५ ग्राम

करी पाउडर– ५ ग्राम

काटेको/पिनेको लसुन– १० ग्राम

काटेको/पिनेको अदुवा– १० ग्राम

ताजा हरियो/ रातो खुर्सानी– ५ ग्राम

बेसारको धुलो– ५ ग्राम

काटेको प्याज– २० ग्राम

काटेको गोलभेडा– ४० ग्राम

नुन -स्वाद अनुसार

काटेको हरियो धनियाँ– ५ ग्राम

क्वाँटी तयार गर्ने तरिका

– दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्

– प्रेसर कुकरमा तेल तताउनुहोस्।

– तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो/हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस्।

– अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस्।

करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।

– केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस्।

– ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

– क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

– अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।

क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकिन्छ। साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ।