काठमाण्डु – इजरायले लेबनानमा आक्रमण गरेपछि अहिलेसम्म ९० हजारभन्दा बढी मानिस विस्थपित भएका छन् ।
इजरायली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा हमला सुरु गरेपछि ९० हजारभन्दा बढी लेबनानी विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाहरूमा बुधबार थप ५१ जनाको मृत्यु भएको जनाएको छ ।
इरान समर्थित हिज्बुल्लाहले आफूले इजरायली आक्रमण रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ । इजरायलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखेर युद्ध गरिएको जनाएको छ ।
गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरायलमा ६०,००० मानिस विस्थापित भएका छन् ।
इजरायलले लेबननमा हिजबुल्लाहविरुद्धको कारबाहीमा सेनाका थप दुई रिजर्भ ब्रिगेड परिचालन गर्न लागिएको जनाएको छ । इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार भएको बताएका छन् ।
इजरायलले हिजबुल्लाहविरुद्ध थप हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको छ ।
लेबनानमा पछिल्ला केही दिनका घटनामा महिला र बालबालिकासहित छ सयभन्दा बढीको मृत्यु भइसकेको छ । घाइतेहरूको संख्या धेरै हुँदा त्यहाँका अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
लेबनानको विदेश मन्त्रालयले दक्षिणी लेबनानबाट पाँच लाख मानिसहरू घर छाडेर भागेको जनाएको छ ।
यसैबीच चर्किरहेको परिस्थितलाई मत्थर पार्न कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन् ।
वरिष्ठ अमेरिकी अधिकारीहरू छोटो समयका लागि भएपनि युद्ध विराम गराउने प्रयासमा छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा लेबननमा युद्ध हुन नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।
प्रतिक्रिया