काठमाडौं – कृषि र व्यापारमा वैदेशिक लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञसहितको १९ सदस्यीय टोली नेपाल आउने भएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका वैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा उक्त टोली नेपाल आउन लागेको हो।
माघ ८ गते काठमाडौं आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नार्क लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता साइगोले नोपाल आउने टोलीका बारेमा जानकारी दिएका हुन्। सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ।
भेटमा राजदूत मासामिचीले उच्च प्रविधिमा आधारित फलफूल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवद्र्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए। जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए।
त्यस्तै मन्त्री खनालले बजार प्रवद्र्धन, ठूलो स्केलको फलफूल परियोजना, दिगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदूत मासामिचीसँग आग्रह गरेका छन्।
प्रतिक्रिया