लगानी हुन्छ, काम हुँदैन

लगानी हुन्छ, काम हुँदैन


दैलेख – नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिका भित्रको मुख्य सडकमा वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ ।

सडक स्तरीय भने हुँदैन । “वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” स्थानीयवासी हेमा खड्काले गुनासो गरे । नगरपालिकाभित्र प्रवेश गर्ने मुख्य द्वार मानिएको भगवती टोलको सडक कालोपत्र गर्ने काम वर्सेनि हुन्छ । प्रत्येक वर्ष सडकमा लाखौँ रकम खर्च गरिन्छ । सडक पक्की भएको केही महिना नबित्दै पुरानै अवस्थामा पुग्छ ।

एउटै सडकमा वर्सेनि लाखौँ खर्च गर्नुभन्दा दिगोरुपमा सडक सञ्चालनको पहल थाल्नुपर्ने सुझाव बारम्बार नगरपालिकालाई दिँदा पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम विसुन्के बताउछन् । नारायण नगरपालिकाका अनुसार गत आवमा भगवती टोल हुँदै लोकतान्त्रिक चोकसम्मका लागि सडकबोर्डमार्फत २९ लाख ५० हजार रकम खर्च गरिएको थियो । सडक बोर्डकै १५ लाख रकम सडक सुधारका लागि विनियोजन गरिएको थियो । असारमा काम सक्नै पर्छ भन्दै रातारात लालटिन बालेर काम गर्ने गरिन्छ ।

गत आवमा नारायण नगरपालिकाभित्रका सडक कालोपत्रका लागि २२ लाख र काडाचौर सडकका लागि ९२ लाख रकम खर्च गरिएको छ । चालू आवमा नारायण नगरपालिकाले नगरपालिकाभित्र सडक विस्तारका लागि गणेशचोकदेखि काडाचौरसम्म एक करोड ४५ लाख ९५ हजारको टेण्डर गरेको छ । यस्तै, मालपोत कार्यालयदेखि भगवती मन्दिर एकान्तकुना सडकका लागि ५६ लाख ६३ हजारको ठेक्का स्वीकृत भएको छ । तीनवटै काम असारसम्म सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिलेसम्म काम शुरु भएको छैन ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का भन्छन्, “दुई महिना समय कामका लागि धेरै हो, ठेकेदारले सम्झौता गरिसकेका छन् । अब काम धमाधम हुन्छ ।” दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमाल सडकमा गरिएको लगानी खेर गएको बताउंछन् । “दैलेख बजारमा सडक कालोपत्र गरिएपनि गुणस्तर राम्रो छैन,” उनले भने । एक करोड ४५ लाखको काम ८५ लाखमा सदर भएकाले गुणस्तरीय सडकका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्नेमा हमाल जोड दिन्छन्।