लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भण्डारीसहित ४ जना पक्राउ

लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भण्डारीसहित ४ जना पक्राउ


काठमाण्डु – ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिका–३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप रहेको जानकारी दिए । यो सहकारीमा २२ हजार बचतकर्ताको निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

जम्मा भएको रकम चाहिएको बखत झिक्न पाइन्छ भनेर सर्वसाधारणहरूलाई विश्वास दिलाएर सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको तथा बचतकर्ताहरूको निक्षेप अपचलन गरेको आरोप पक्राउ परेकाहरूमाथि छ ।

चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।