ललितपुर – ललितपुरमा महानगरपालिकाले बनाएको वान वे प्रहरीले हटाएको छ । महानगरपालिकाले एकान्तकुना नख्खु र सानेपामा वान वे बनाएको थियो । प्रहरीसंग समन्वय नगरेर वान वे वनाएपछी ट्राफिक प्रहरी असन्तुष्ट थियो ।
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हांछेतुको सक्रियातमा वान वे बनाइएको थियो । महानगरपालिकाले सवारी चाप नियन्त्रण र दुर्घटना न्युनिकरणका लागि चार पांग्रेलाई निषेध गरिएको र त्यसले सवारी जाम घटाएको दावि गरेको छ । तर, स्थानियले भने यसले समस्या समाधान नगरेको गुनासो गरेका छन् ।
महानगरपालिकाले साउन १० गतेबाट नख्खु पुलबाट एकान्ताकुना आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने २५२ मिटर क्षेत्र चार पांग्रे सवारी साधनलाई वान वे गरेको थियो ।
त्यसैगरी होटल ग्रिनविच हुंदै झम्सिखेल जाने मुल सड्कमा समेत चार पांग्रेलाई यसअघि नै निषेध गरिएको थियो । वान वेले गर्दा उक्त क्षेत्रमा सवारी जाम कम नभएको स्थानियको गुनासो छ । व्रिटिस स्कुलमा स्कुल संचालन हुने र विदा हुने समयमा सवारी जाम भएपनि अरु बेला भने यो क्षेत्रमा जाम नहुने स्थानियको भनाई छ ।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार स्थानियको गुनासोपछि वान वे हटाउन ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी मिरा चौधरीलाई ठाडो निर्देशन दिएका थिए । उनको निर्देशनपछि प्रहरीले महानगरपालिकासंग समन्वय नगरेर वान वे हटाएको हो ।
प्रहरीले भने शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको काम आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै महानगरले आफुहरुसंग समन्वय गर्नुपर्ने बताएको छ । उसले एकलौटी रुपमा महानगरले गर्दा समस्या हुने दावी गरेको छ । यता महानगरले पनि वान वे हटाउनुको कारणबारे भने जानकारी नभएको जनाएको छ ।
महानगरका मेयर चिरीबाबु महर्जनले वान वे वनाएसंगै सवारी जाम हटेको दावी गरेका छन् । उनले सवारी व्यवस्थापन मात्र नभई यसले दुर्घटना नियन्त्रण समेत भएको दावि गरे । तर, प्रहरीले एकलौटी ढंगले वान वे हटाएकोमा भने उनले आक्रोस व्यक्त गरे ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी चौधरीले आफु अर्को बैठकमा रहेकाले यसबारेमा प्रवक्तालाई सोध्न आग्रह गरिन् । प्रहरीले महानगरसंग समन्वय नगरेर एकतर्फि रुपमा वान वे हटाएपछी दुवै निकायबीच विवाद उत्पन्न भएको छ ।
ललितपुर महानगरका मेयर महर्जनले यसबारेमा ट्राफिक प्रहरी प्रमुख चौधरीसंग आफ्नो आक्रोस पोखेका छन् । उनले महानगरले हावाको भरमा त्यस्तो नगरेको भन्दै प्रहरीले ज्यादती गरेको बताएको स्रोत बताउंछ ।
यता ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले वान वे हटाएको स्विकार गर्दै यो अहिले अध्ययनकै क्रममा रहेकाले आफुले त्यो भन्दा बढी भन्न नमिल्ने बताए । ‘ वान वे राख्दा के हुन्छ र नराख्दा के हुन्छ भनेर हामिले अहिले अध्ययन गरिरहेका छौं । यो भन्दा बढी मैले यसमा अहिले केही बोलिन ।’ प्रवक्ता भट्टले भने ।
प्रतिक्रिया