ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि


काठमाण्डु-ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए ।

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए ।

झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको उनले जानकारी दिए ।

शाखाका प्रमुख डा. पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र यो पानी दुषित रहेको बताए । बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर पिउन उनको अनुरोध छ ।