ललितपुरमा कांग्रेस बलियो, माओवादीसँग गठबन्धन भए सबै स्थानीय तह जित्ने सम्भावना

ललितपुरमा कांग्रेस बलियो, माओवादीसँग गठबन्धन भए सबै स्थानीय तह जित्ने सम्भावना


काठमाण्डु – ललितपुर जिल्लामा एक महानगरपालिकासहित ६ वटा स्थानीय तह छन् । जसमा तीनवटा गाउँपालिका छन् । यो जिल्लामा केही विकट गाउँसमेत छन् । अघिल्लो चुनावमा जिल्लामा मिश्रित परिणाम आएको थियो ।

जिल्लामा मुख्यतः एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । गत चुनावको परिणामका आधारमा कांग्रेस पहिलो शक्ति हो । उसले माओवादीसँग तालमेल नगरी ललितपुर महानगरसहित तीन स्थानीय तह जितेको थियो । एमालेले दुई र माओवादीले एक स्थानीय तहमा वर्चस्व जमाएका थिए ।

कांग्रेसले महानगरबाहेक गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा प्रमुख–उपप्रमुख नै जित्यो । एमालेले महांकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकामा प्रमुख–उपप्रमुखमा बाजी मार्‍यो । माओवादीले भने कोञ्ज्योसोम गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । त्यसबाहेकका अधिकांशमा माओवादी तेस्रो शक्तिका रूपमा देखिएको थियो ।

आगामी चुनावमा कस्तो परिणाम आउला भन्ने अझै यकिन गर्न गाह्रो छ । किनकि सत्तासाझेदार दलबीच तालमेल हुन्छ कि हुँदैन भन्नेले नै त्यसको निर्धारण गर्नेछ । यदि तालमेल भयो भने एमाले ललितपुरमा शून्यमै झर्न सक्छ । उसले जितेका दुई पालिकामा कांग्रेस र माओवादी मिल्दा अत्यधिक मत हुन्छ ।

तालमेल भएन भने पहिलेकै जस्तो परिणाम आउने सम्भावना छ । एउटा पालिकामा माओवादी सहजै जित्ने अवस्थामा देखिन्छ । एमाले विभाजन भएकाले कांग्रेसलाई पहिले जितेका पालिका बचाउन खासै समस्या नहुन सक्छ । किनकि अघिल्लोपटक उसले एक्लै लडेर ललितपुर महानगरसमेत जितेको थियो ।

तालमेल हुँदा माओवादी र कांग्रेसले थप एक–एक पालिका आफ्नो पोल्टामा पार्न सक्छन् । त्यस्तो अवस्थामा भने एमाले जिल्लामै प्रमुख–उपप्रमुखविहीन हुनेछ । तालमेल नहुँदा पनि एमालेलाई पहिले जितेका दुई पालिका बचाउन कडा मिहिनेत गर्नुपर्ने देखिन्छ । किनकि उसका केही मत यसपटक एकीकृत समाजवादीले समेत काट्ने निश्चित छ । यसबाहेक थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि परिणाम प्रभावित हुन सक्नेछ ।

जिल्लामा आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि २ लाख ४३ हजार ३ सय ९४ मतदाता छन् । ती मध्ये १ लाख १८ हजार ९ सय ३३ पुरुष र १ लाख २४ हजार ९ सय ५० महिला छन् । एकजना अन्य छन् ।

हेर्नुहोस्, ललितपुरका ६ वटै स्थानीय तहमा ०७४ को निर्वाचनको वडासम्मकै अंकगणित र थपिएका मतदाताको संख्या इन्फोग्राफमा ।

ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा