‘गुण्डा नाइके’ लामाकाे प्रहरीमा बयान : बरामद भएकाे पेस्तोल मेराे हाेर्इन्

‘गुण्डा नाइके’ लामाकाे प्रहरीमा बयान : बरामद भएकाे पेस्तोल मेराे हाेर्इन्


काठमाडौँ– गत फागुन ३० गते राति काठमाडौँको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामाबाट बरामद पेस्तोल आफ्नो नभएको प्रहरीमा बयान दिएका छन् । ६ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ परेका लामाले सुरूदेखि पेस्तोल आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

लामा विरुद्ध काठमाडौँ प्रहरीले हातहतियार खरखजनामा मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको छ । महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका लामाले हतियार आफ्नो नभएको बयान दिएको काठमाडौँ प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

उनका अनुसार लामाले आफूलाई गोली हान्ने युवाको हातबाट पेस्तोल खोसेको दाबी गरेका छन् । प्रहरी बयानमा लामाले भनेका छन्, ‘एक जना युवा गोली हान्न मतिर आउँदै थिए, मैले त्यो देखेँ हतियार खोस्दा भूईमा झर्यो, त्यही बेला एक राउण्ड फायर समेत भयो, मलाई गोली हान्ने युवा भाग्यो, हतियार भूईबाट भर्खर टिपेको थिएँ प्रहरी आएको हो ।’

उनले हतियार आफ्नो नभएको भन्दै गोली हान्न आउने युवाको हुलिया समेत प्रहरी बयानमा उल्लेख गरेको डिएसपी थापाले जानकारी दिए । लामाबाट बरामद पेस्तोल परीक्षण गर्न प्रयोगशाला पठाएको भन्दै प्रवक्ता थापाले रिर्पोट आएपछि बयानका साथमा राखी मुद्दा जिल्ला प्रशासन कार्यालयमा बुझाउने जानकारी दिए ।

के थियो घटना ?

काठमाडौंको गौशलाबाट १ थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका लामाले उक्त पेस्तोल आफ्नो नभएको बतादै आएका छन् । उनले पेस्तोल र ६ राउण्ड गोली आफ्नो नभई आफूलाई आक्रमण गर्न आउनेको भएको बताउँदै मुचुल्कामा हस्ताक्षर गर्न मानेका छैनन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार उनले मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेको छन् । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघि सफाई पाएका थिए । हिजोआज उनी आपराधिक क्रियाकलापमा सक्रिय देखिदैनन् ।

 तर एकाएक उनी प्रहरीले प्रयोग गर्ने पेस्तोल र गोलीसहित समातिनुको अवस्था भने सामान्य मान्न सकिँदैन । पक्राउ परेका लामाकोे साथमा प्रहरीले प्रयोग गर्ने पेस्तोल कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान होला । तर प्रहरीको मिलोमतो नभई लामासँग प्रहरीले प्रयोग गर्ने पेस्तोल र गोली कहाँबाट आयो? पुशपति भिजन होटलमा गोली चलेको आवाज सुनेर प्रहरी पुग्दा त्यहाँ प्रहरीले गणेश लामालाई जिमखानाबाट फर्कँदै गरेको देखे र उनैले गोली चलाएको अनुमानमा लामालाई पक्राउ गरे ।

उनी पक्राउ पर्नुमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरलेललाई बढी फाइदा पुग्ने देखिन्छ । नवराज सिलवालको कार्यसम्पादन मुल्याङ्कन किर्ते प्रकरणमा विश्वराज कर्मचारी प्रशासन शाखामा एसपी थिए ।

नवराज सिलवालको कार्यसम्पादन मुल्याङकनमा किर्ते प्रकरणमा उनी पनि मुछिएका थिए । त्यसपछि विश्वराजलाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) मा तानियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखका हिसावले उनले शान्ति सुरक्षामा केही उल्लेखनीय काम गरेको देखिएको छैन । अब उनले केही राम्रो काम गरेर नदेखाए सरुवा हुन सक्ने कारणले अहिले प्रचारको लागि गणेश लामा समातिएको उच्च स्रोतले जनाएको छ ।

गणेश लामाले हिजोआज आफ्नो छवि सुर्धादै आएका छन् । प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट काभ्रेको उम्मेदवार बनेपछि उनको आलोचना र चर्चा दुवै भएको थियो । उनी निर्वाचनमा हारेपनि उनको गतिविधि सामान्य नै देखिएको थियो । एकाएक गणेश लामा पेस्तोल सहित पक्राउ पर्दा प्रहरीको नियतमाथि नै प्रश्न खडा भएको छ । यसमा एसएसपी विश्वराज पोखरलेकै स्वार्थ बलियो भएको देखिएको छ ।