काठमाण्डु – बलिउड गायिका लता मंगेशकरको निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना भएकी उनको ९२ वर्षको उमेरमा आज निधन भएको हो । कोभिड संक्रमणपछि उनलाई निमोनिया पुष्टि भएको थियो ।
शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आएपनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषासहित भारतका ३६ जातिय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।
एमबीबी शाह नामले चिनिने पूर्वराजा महेन्द्रद्वारा लिखित आकाशमा तिरमिरे बोलको गीतलाई लताले गाएकी थिइन् । लताले नेपाली गायक रामकृष्ण ढकालसँग पनि मिलेर ‘बाँचुञ्जेलीलाई’ गाएकी छिन् ।
सन् २००१ मा लतालाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो । उनले प्रशस्तै राष्ट्रिय फिल्म अवार्ड र फिल्मफेयर अवार्डसहितका पुरस्कार जितेकी छिन् । उनी लन्डनको रोयल अल्बर्ट हलमा सांगीतिक प्रस्तुति दिने पहिलो भारतीय गायिका समेत हुन् ।
प्रतिक्रिया