जुवातास, लागुऔषधमुक्त कर्णाली प्रदेश : कानूनमन्त्री भण्डारी

जुवातास, लागुऔषधमुक्त कर्णाली प्रदेश : कानूनमन्त्री भण्डारी


सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् । आज गृह जिल्ला जुम्ला पुगेका  उनले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताए ।

‘लागुऔषधको प्रयोगले युवा समाज बर्बाद हुँदा मुलुकको विकासमा नकारात्मक प्रभाव परेको र जुवातासले हाम्रो सभ्यतामाथि आक्रमण गरेको छ । त्यसको पूर्ण समाप्तिका लागि प्रदेश सरकारले निराकरणका गतिविधि थालेको छ’, उनले भने ।

घरेलु मदिराको जथाभावी बिक्री वितरण तथा सेवनले घरेलु हिंसाका साथै आपराधिक गतिविधि बढेकाले पनि यसको नियन्त्रण अभियान थालिएको उनकाे दावी थियाे । जुम्ला प्रशासन र प्रहरीले जुवातास तथा लागुऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री भण्डारीले भने, ‘ग्रामीण कुनाकाप्चामा व्यापक बन्दै गएको मदिरा नियन्त्रणमा गाउँस्तरबाटै सामाजिक सहयोग आवश्यक छ ।’