तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकसहित ५ बैंकले ४ अर्ब लगानी गर्ने

तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकसहित ५ बैंकले ४ अर्ब लगानी गर्ने


काठमाडौं– तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त आयोजनाको निर्माण लागत ५ अर्ब ५९ करोड रहेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको प्रवद्र्धन भने सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा गरेका छन् ।

 

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७३ पौष १४ मा भएको थियो । उक्त आयोजना निर्माणको लागि कम्पनीले उर्जा मन्त्रालयबाट २०७२ चैत्र २८ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो ।

 

आयोजनामा लक्ष्मी बैंकले १ अर्व २४ करोड, कुमारी बैंकले १ अर्व, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड लगानी गरेका छन् । तल्लो लिखु जलविद्युत आयोजना बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।

 

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले झण्डै १७०.८४ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुने लगानीकर्ताहरुको दाबी छ ।