लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता


काठमाण्डु – लक्ष्मी बैंक र सनराइज बैंकबीच (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ ।संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनेछन् ।

दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।