काठमाण्डु-इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ ।
लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताएका छन् ।
लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिएका छन् । नसरल्लाहले इजरायलसँगको हिसाब छिट्टै चुक्ता गर्ने पनि चेतावनी दिएका छन् ।
३७ जना हिजबुल्लाहका सदस्यको ज्यान जानेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ ।
यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा बम आक्रमण गर्न थालिसकेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । इजरायलले हिजबुल्लाहका अखडामा बमबारी गरेको जनाएको छ ।
गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ ।
हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।
प्रतिक्रिया