नेपालमा चिनिया लगानी भित्रिए भारत पनि लाभान्वित हुन्छ-चीनका लागी नेपाली राजदूत पौडेल

नेपालमा चिनिया लगानी भित्रिए भारत पनि लाभान्वित हुन्छ-चीनका लागी नेपाली राजदूत पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोशन खड्का, बेइजिङ – चीनका लागी नेपाली राजदूत लीलामणि पौडेलले एक मुलुकमाथिको निर्भरता कम गर्नुपर्ने बताएका छन् । चीन भ्रमणमा गएको नेपाली संचारकर्मीको टोलीसंग बेइजिङस्थित दूतावासमा भएको भेटमा राजदूत पौडेलले दक्षिण छिमेकी भारततर्फ संकेत गर्दै नेपालले कुनै एक मुलुकमाथिको अत्याधिक निर्भरता हटाउनुपर्ने बताएका हुन ।  उनले विकासका मुद्दामा मिलेर अघि बढ्न दलहरुलाई सुझावसमेत दिए ।  

 

चीनसंग नेपालले गरेको ‘वान वेल्ट वान रोड ’ परियोजनाले नेपालको परनिर्भरता कम हुने दाबी गर्दै पौडेलले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले त्यसका लागी नेपालले चिनियां नेतृत्वलाई विश्वास दिलाउन सक्नुपर्ने उल्लेख गरे ।  ‘वान वेल्ट वान रोड परियोजना अघि बढ्यो भने नेपालको समृद्धि आफै हुन्छ, त्यसले एउटा मुलुकमाथिको परनिर्भरता पनि कम गर्र्छ’, पौडेलले भने ‘यसमा हाम्रोे राजनीतिक नेतृत्वले चीनलाई विश्वास दिलाउन सक्नुपर्छ ।’  

 

अस्थिरता अर्को कारण
पटकपटक हुने सरकार परिवर्तनका कारण चीन नेपालमा ठूला परियोजनामा लगानी लगाउन अनिच्छुक देखिएको भन्दै पौडेलले दलहरुले ठूला परियोजना कुनै सरकारले गर्ने नभई राष्ट्रको परियोजना भएकाले जसरी पनि  पूरा हुने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

 

राजदूत पौडेलले चीनले नेपालको सरकारसंग नभई मुलुकसंग विकास परियोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको चर्चा गर्दै सरकार परिवर्तन हुदैंमा विकास प्रभावित हुन नहुनेमा जोड दिए ।
दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका कतिपय मुलुकले चीनको विकास र समृद्धिबाट प्रत्यक्ष लाभ लिएको भन्दै उनले लाभ लिनबाट नेपाल निकै पछि परेको औल्याए ।

 

‘चीनको विकास र समृद्धिबाट सार्कका श्रीलङका,भुटान, माल्दिभ्स, पाकिस्तान र भारतले समेत प्रत्यक्ष लाभ लिएका छन् । लाभ लिनेमा हामी निकै पछाडि छौ’ पौडेलले भने ‘यस्तो हुनुमा राजनीतिक अस्थिरता प्रमुख कारण हो ।’

 

नेपालमा चिनियां लगानी बढ्दा भारत संशकित हुने भ्रम नेपालमा रहेको भन्दै उनले नेपालमा चिनियां लगानी भित्रिए त्यसको फाइदा भारतलाई समेत हुने दावी गरे । चीन नेपालमा ठूलो लगानी गर्न तत्पर रहेको उल्लेख गर्दै पौडेलले ६–६ महिनामा सरकार परिवर्तन हुदैन भन्ने प्रतिबद्धता नेपालले जनाउनुपर्ने बताए ।

देशको स्वार्थलाई केन्द्रमा राखौ
पूर्वमुख्यसचिव समेत रहेका राजदूत पौडेलले चीनसंग गरेका सम्झौताले मुलुकलाई कुनै बेफाइदा नभएको भन्दै त्यसबाट छिमेकी मुलुकले पनि फाइदा लिनुपर्ने बताए । उनले नेपालले आफ्नो प्राथमिकता तय गर्नुपर्नेमा समेत जोड दिए ।

 

‘हामी कसैको बहकाउमा लाग्न जरुरी छैन , हामीले मुलुकको स्वार्थलाई केन्द्रमा राखेर आफ्नो प्राथमिकता तय गरौ ।’ राजदूत पौडेलले भने । हरेक देशसंग आआफ्ना समस्या भएको भन्दै उनले त्यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।  

 

ओबरबाट कोही तर्सनु आवश्यक छैन्
राजदूत पौडेलले चीनले अघि सारेको एक पेटी एक मार्ग परियोजनामा कुनै रणनितीक स्वार्थ नलुकेको दाबी गरे । ‘ओबरमा चिनको स्वार्थ भनेको ब्यापार विस्तार नै हो त्यो बाहेक यसमा कुनै रणनितीक स्वार्थ छ जस्तो मलाई लाग्दैन्’ पौडेलले भने । 

 

चिनियाहरु समृद्धिको बाटोमा अघि बढ्ने दिशामा रहेको भन्दै त्यसबाट सवै मुलुकले फाइदा लिनुपर्ने पौडेलको भनाइ थियो । उनले नेपाल र चीनबीच भएका समझदारी र सम्झौताले कुनै अरु मुलुकलाई नोक्सान नपुग्ने दाबी गरे ।  

 

‘भारतलगायत विश्वका धेरै मुलुकले चीनको प्रविधि र लगानीबाट प्रत्यक्ष फाइदा लिएका छन्,नेपालले आफ्नो मुलुकको हितको लागी कुनै सन्धि सम्झौता गर्छ भने त्यसबाट कसैले दुःखी हुनुपर्ने कुनै कारण म देख्दिन्’  पौडेलले भने ।

 

यसरी बढेको छ चीनमा नेपालको उपस्थिति
आठ महिना पहिला राजदूतको जिम्मेवारी सम्हालेका पौडेलले नेपालमा पर्यटक भित्राउन,व्यापार र लगानी प्रर्वद्धनका लागी चीनका ७ प्रमुख शहरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले लान्चाओ, कुन्मिङ, बेइजिङ, साघांई र गोन्जाओलगायतका शहरमा करिब २ सयभन्दा बढी कार्यक्रम आयोजना गरेको बताए ।

 

‘सीमित स्रोत–साधनको बीचबाट पनि हाम्रो दूतावासले मुलुकको हितमा बढीभन्दा बढी काम गरेको छ,यो रफ्तारलाई हामीले अझै पनि तीव्र पार्दै लगेका छौ,यसमा सबैको सहयोग आवश्यक छ’ उनले भने ।

 

राजदूत पौडेलले नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन आफूले व्यक्तिगत र संस्थागत रुपमा चिनियां व्यवसायी र संचारमाध्यमसंग निरन्तर छलफल गरिरहेको जानकारी बताए ।