वाम एकता, केमा अड्कियो गाँठो ?

वाम एकता, केमा अड्कियो गाँठो ?


काठमाडौं- दुई प्रमुख वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर प्राविधिक कुरामा गएर अड्किएको छ । दुई कम्युनिस्ट पार्टीबीच सबैभन्दा जटिल विषय सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा गएर कुरो अड्किएको हो ।

गत ७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य गरेर पार्टी नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा पुगेर अड्किएका छन् ।

दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अघि नै एकता सम्पन्न गर्ने तयारी गरे पनि सम्भव भएन । त्यसलगत्तै ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्नेमा तयारीमा जुटे पनि विवादित विषय मिल्न
फरकफरक पृष्ठभूमि र अलग सिद्धान्त तथा विचार अँगाल्दै आएका दुई पार्टीले सिद्धान्त र विचारमा त्याग गरे पनि अन्तिम समयमा नेतृत्व र संगठनात्मक व्यवस्थापन, निर्वाचन चिह्न र जनयुद्ध शब्दको विषयमा अड्डी लिँदा एकता घोषणा हुन नसकेको हो ।

९ वैशाखमा एकता घोषणा नभएपछि अब एकता कहिले हुने भन्नेसमेत अन्योल बनेको छ । कम्युनिस्ट स्थापना दिवसको दिन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले अब एकता तिथिमिति तोकेर नहुने भन्दै जुन दिन एकता हुन्छ भनिन्छ त्यो दिन नहुन सक्ने र जुन दिन हुन्न भनिन्छ त्यो दिन ड्याम्मै हुने भन्दै कार्यकर्तामाझ एकता जुनसुकै दिन हुन सक्ने सन्देश प्रवाह गरेका थिए ।

एकताको विकल्प नरहेको बताउने माओवादी केन्द्रका एक नेताका अनुसार दाहालको उक्त कुरा कार्यकर्ता तथा शुभचिन्तकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गरिए पनि दुई पार्टीबीच मतभेद भने अझै धेरै रहेको बताउँछन् । दुई पार्टीबीच नेतृत्व तथा संगठनात्मक व्यवस्थापन जटिल विषय बनेको छ ।

एकताको खाका तय गर्न गठित दुई कार्यदलमध्ये सांगठनिक तथा विधान मस्यौदा कार्यदलले निर्वाचन चिह्न र विधानमा जनयुद्धको विश्लेषणको विषय टुंग्याउन बाँकी राखेर प्रतिवेदन बुझाएको थियो । एकता संयोजन समितिको बैठकमा निर्वाचन चिह्न र जनयुद्धको विषय अझै पनि मिल्न बाँकी छ ।

समितिमा सहमति जुट्न नसकेपछि ४ वैशाखमा बसेको समितिको बैठकले विवादित विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको छ । त्यसयता पटकपटक दुई अध्यक्ष छलफलमा जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङ एकता हुनेमा कुनै शंका नरहेको भन्दै दुई अध्यक्षबीच आपसी छलफलपछि एकता प्रक्रिया टुंगोमा पुग्ने बताउँछन् । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल दुई पार्टीबीच एकता भएरै छाड्ने भन्दै दुई अध्यक्षबीच छलफल सकारात्मक रहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने बताउँछन् ।

पछिल्लोपटक दुई पार्टीबीच एकतामा केही धरमरसमेत देखिन थालेको छ । ९ वैशाखमा एकता संयोजन समितिको आयोजनामा राष्ट्रिय सभामा आयोजित संयुक्त कार्यक्रममा ब्यानरको विषयमा तुष पैदा भयो ।

ओलीले भने : केटाकेटीलाई सम्झाउनुपर्छ
ब्यानर विवादको पाँच दिनपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्यानर विवादबारे मुख खोल्दै असन्तुष्टि जनाएका छन् । पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु बिल्कुल फरक भएको भन्दै ओलीले ब्यानर विवादको पाँच दिनपछि मुख खोल्दै केटाकेटीपनाको संज्ञासमेत दिए ।

‘यत्रो इतिहास बोकेका व्यक्तिहरू मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाई भएन, यस्ता केटाकेटीहरूलाई सम्झाउनुपर्छ, बनाएको ब्यानर फालेर उफ्रनु र पञ्चायतका विरुद्ध उफ्रनु फरक कुरा हो, विस्तारै बुझ्दै जानेछन् ।’ बिहीबार सानेपामा आयोजित पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको १९औं स्मृतिसभामा ओलीले भने । पार्टी एकता हुँदा कुन महत्वका साथ आफू कहाँ हुने भन्ने चर्चाले जनतामा आशंका बढेको भन्दै ओलीले पार्टी एकता भने भएरै छाड्ने बताए ।