काठमाडौं – आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् ।
कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै कारण विमान खरिद प्रक्रियामा झमेला भएको दाबी गरे । टेन्डरिङ प्रक्रियाबाट वाइडबडी आएको छ’ समितिको बैठकमा उनले भने, ‘प्राइभेट सेक्टरको भएको भए यति ठूलो झमेला हुँदैहुँदैनथ्यो । सरकारी भएर झमेला भयो ।’
सार्वजनिक खरिद ऐन र निगमको विनियामवली अनुसार नै विमान गरिद गरिएको पनि उनले बताए । तर यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा मूल्य र खरिद प्रक्रियाबारे प्रश्न उठाइएको थियो । यस्तै पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले पनि विमान खरिद प्रक्रियाका फेहरिस्त समितिको बैठकमा प्रस्तुत गरेका थिए । सोअघि सांसदहरुले विमान खरिद प्रक्रिया र अनियमितताका विषयमा केन्द्रीत रहेर प्रश्न गरेका थिए ।
लेखा समितिले वाइड बडी खरिद सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट भएको छानबिनमाथि पनि प्रश्न उठाएको छ । छानबिन समितिका सदस्यहरु निगम सञ्चालक समिति सदस्य र खरिद प्रक्रियामा सहभागी व्यक्तिहरु नै रहेको लेखा समितिले बताएको छ ।
प्रतिक्रिया