९ भदौदेखि बसेन सार्वजनिक लेखा समिति बैठक

९ भदौदेखि बसेन सार्वजनिक लेखा समिति बैठक

श्रीमतीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सभापति पोखरेल झन अफ्ट्यारोमा


काठमाण्डु – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक गत भदौ ९ गतेदेखि बस्न सकेको छैन ।

सार्वजनिक सरोकार र सरकारको लेखा हेर्ने संसदीय समितिको ९ भदौमा बसेको बैठकमा नेपाल विद्युत् प्राधिकरणले उद्योगीसँग उठाउन बाँकी बक्यौताको विवादको विषयमा छलफल भएको थियो । त्यसपछि अहिलेसम्म बैठक नबसेको नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जानकारी दिए ।

सार्वजनिक लेखा समितिको सभापतिमा एमाले सांसद ऋषिकेश पोखरेल छन् । एकातर्फ प्रतिपक्षी दलहरूले लेखा समिति सभापति प्रतिपक्षी दलका सांसद हुनुपर्ने बताउँदै विरोध गरिरहेका छन् ।

अर्कोतर्फ सभापति पोखरेलकी श्रीमती अन्जला कोइरालाविरुद्ध मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत मोररूबाट पक्राउ पूर्जी जारी भएको छ । कोइरालाविरुद्ध २ पुसमा पक्राउ पूर्जी जारी भएको हो ।

पहिलादेखि नै पत्नी कोइराला सञ्चालक समितिको सदस्य भएको बेलामा सहकारीको रकम हिनामिना भएको विषय उठेको थियो । त्यसपछि कोइराला सम्पर्कविहीन भएकी थिइन् । अहिले पक्राउ पूर्जी नै जारी भएपछि सभापति पोखरेल झन दबाबमा परेका छन् ।

श्रीमतीको नाममात्र रहेको र सहकारी सबै पोखरेलले चलाउने गरेको आरोप पनि लाग्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले त यही प्रकरणका कारण सभापति पोखरेलको राजीनामा मागिसकेको छ ।

हिजो माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले पत्रकार सम्मेलन गरी सभापति पोखरेलको राजीनामा मागेका हुन् । माओवादीले लेखा समिति सभापति पोखरेलकी पत्नी भएकै कारण कोइराला अनुसन्धानको दायरामा नआएको आरोपसमेत लगाउँदै आएको छ ।

सार्वजनिक लेखा समितिमा अहिले ९० वटा उजुरी छन् । बैठक नबस्दा समितिले अहिलेसम्म न ती उजुरी वितरण गरेको छ न त छलफल नै भएको छ।

यता सभापति पोखरेलले सांसदहरू काठमाण्डौमा नभएकाले बैठक बस्न नसकेको बताउँदै आएका छन् । समिति बैठक बस्न नसके पनि उपसमितिको बैठक बसिरहेका बताउँछन् । एक साता अघि मात्र पनि उजुरीहरूको विषय अध्ययन गर्न बनेको उपसमितिको बैठक बसेको भनाइ सभापति पोखरेलको थियो ।