काठमाण्डु – नेकपा एमालेका सचिव लेखराज भट्टले मानिस नयाँ पुरानो जो भए पनि विचार नयाँ हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव लेखकले सोच र दृष्टिकोण नयाँ हुनुपर्ने बताए ।
वर्तमान विश्व परिवेशलाई हेरेर अहिलेको वर्तमानमा अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उनले स्पष्ट पारे । ‘अहिले विश्व जुन गतिमा गएको छ, त्यो गतिलाई बुझ्न आवश्यक छ, देशलाई बुझेर नेपाली जनताको मनोविज्ञानलाई बुझेर नीति निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ,’ उनले भने ।
जनताको बहुदलीय जनवादले नेपालको अहिलेको आवश्यकतालाई कसरी समातेको छ भन्ने कुरा ख्याल गर्नुपर्नेमा भट्टले जोड दिए । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्ने विचार जनताको बहुदलीय जनवाद र पार्टी नेकपा एमाले भएको उनले बताए ।
देशमा गणतन्त्र र संविधान विरोधीहरू मौलाएको भन्दै अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको उनले स्पष्ट पारे । ‘मरेको मुर्दालाई जगाएर हामी ल्याउँछौ भन्दैछौ, राज आएर देश बचाउन सक्दछ ?’ भट्टले भने ।
राष्ट्रियताको कुरा उठाउनेहरूको राष्ट्रवाद भारतमा नेपाली विद्यार्थीको ज्यान जाँदा कहाँ गयो भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दा समेत उग्र राष्ट्रवादका कुरा गर्नेहरू कहाँ गए भन्दै प्रश्न गरे । उग्र राष्ट्रवादी भनिनेहरू समाजमा अराजकता फैलाउन मात्र केन्द्रित रहेका उनले बताए ।
प्रतिक्रिया