देश विकास गर्न एमाले राष्ट्रिय शक्ति हुनुपर्छ : पूर्व मन्त्री भट्ट

देश विकास गर्न एमाले राष्ट्रिय शक्ति हुनुपर्छ : पूर्व मन्त्री भट्ट


धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले नेपालमा लोकप्रिय मतले १ नम्बर पार्टी संसद्मा दोस्रो हैसियतमा झरेकाले राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमाले टीकापुर नगर कमिटीको दशौं अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै भट्टले विकास गर्न एमालेकै नेतृत्व चाहिने भन्दै आफू मन्त्री भएका बेला रातो किताबमा आउन थालेका सेती लोकमार्ग, महाकाली लोकमार्ग, डुडेझारी औद्योगिक क्षेत्रमा काम हुन नसकेको बताए ।

एमालेले २०८१ सालमा पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको गर्न लागेकाले कमजोरी गरेका कार्यकर्ताले आत्मआलोचना गर्दै पार्टी काममा लाग्न आग्रह गरे । उनले पार्टीभित्र पुरानाहरू वरिष्ठ हुँ भन्ने घमण्डमा, नयाँहरू बुझ्दै नबुझी पद पाउँछु कि पाउँदिनँ भन्ने बार्गेनिङमा लागेका र पार्टीमा आएकालाई व्यवस्थापन नगर्ने प्रवृत्ति सुधार्नुपर्ने र सम्बन्ध बिग्रेपछि सिध्याउने प्रवृत्ति हटाएर पार्टी कार्यकर्ताहरू एकआपसमा सहयोगी बन्नुपर्ने बताए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गणेशसिंह ठगुन्नाले पार्टीका लक्ष्य पूरा गर्न, समृद्ध नेपाल सुखी नेपाल बनाउन पार्टी सशक्त र संगठित रूपले अघि बढ्न जागरुक नेतृत्व आवश्यक रहेको बताए । एमाले चुनाव जित्नका लागि मात्र नभई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनुपर्ने आजको आवश्यकता रहेको बताए ।

जातीय, क्षेत्रीय भेगीय रूपमा नभई एकताबद्ध एमाले बनाउन उनले सुझाव दिए ।

केन्द्रीय सदस्य झपटबहादुर रावलले एमालेका ऊर्जावान शक्ति परिचालन भई जनतामा पुग्न नसकेकाले विगतमा निर्वाचनमा पराजित भएको भन्दै जनताको सेवा गर्न र देश निर्माण गर्ने जिम्मेवारीमा पुग्न एमालेले आउँदा निर्वाचन जित्नैपर्ने बताए । पार्टी कार्यकर्ताले संकीर्णता छोडेर शत्रु र मित्र छुट्याउन सक्नुपर्ने उनले बताए ।