मतदातालाई धन्यवाद दिँदै लेखराजले भने, ‘अब मुलुकमा स्थायी सरकार’

मतदातालाई धन्यवाद दिँदै लेखराजले भने, ‘अब मुलुकमा स्थायी सरकार’


कैलाली–नेकपा (माओवादी) केन्द्रका नेता एवं वामगठबन्धनका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले मतदातालाई धन्यवाद व्यक्त गरेका छन्।

 

 

मतदान सकिएसँगै भट्टले एक वक्तव्य जारी गरी वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका हुन्।

 

 

निर्वाचनसँगै नेपालमा नयाँ राजनीतिक र राज्य व्यवस्थाको अभ्यास सुरु भएको उल्लेख गर्दै भट्टले मुलुकमा स्थायी सरकार बन्ने विश्वास व्यक्त गरेका छन्।

 

 

‘मतदानमा सक्रिय, शान्तिपूर्ण र उत्साहजनक सहभागिता जनाएर सबै मतदाताले संघीयता र नयाँ राजनीतिक बाटोलाई संस्थागत गर्न भूमिका निर्वाह गरेका छन्।

 

 

 

समृद्ध राष्ट्र निर्माणको विशाल योजनासहित बनेको वाम गठबन्धनप्रति आकर्षित हुँदै बहुसंख्यक मतदाताले वाम गठबन्धनका पक्षमा मतदान गर्नुभएको प्रारम्भिक रिपोर्टिङ्ग प्राप्त भएको छ। यसले नेपालमा स्थायी सरकार, आर्थिक विकास र समृद्धिको सपना पूरा हुने निश्चित भएको छ,’ वक्तव्यमा भनिएको छ।

 

 

मतदाताको उत्साह र समर्थनले आफूसँगै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारको विजय हुनेमा ढुक्क रहेको भट्टले बताएका छन्।

 

भट्टले चुनावताका प्रतिवद्धता दोहोर्याएका छन्।

 

 

उनले भनेका छन्, ‘पूर्वप्रतिवद्धता बमोजिम अत्तरियालाई प्रादेशिक आर्थिक राजधानी बनाउने र अन्य क्षेत्रमा विकास निर्माणका कार्य अगाडि बढाउन हामी प्रतिवद्ध छौं। विकास निर्माण कार्य अगाडि बढाउन भविष्यमा समेत निरन्तर सहयोग र समर्थन प्राप्त हुने आशा गर्दै सबै मतदातालाई पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छु।’