दरारपछि दोस्ती : लेखराजको यसरी प्रसंशा गरे खगराजले (भिडियाेसहित)

दरारपछि दोस्ती : लेखराजको यसरी प्रसंशा गरे खगराजले (भिडियाेसहित)


काठमाडौं— तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा होमिएका नेता हुन्, लेखराज भट्ट र खगराज भट्ट।

यी दुबै नेता जनयुद्धताका सँगैसँगै रहे तर यिनिहरुबीच रहेको बैचारिक लडाई संसदीय प्रक्रियामा आउँदा पनि टुंगिएन । बरू कैलालीका लेखराज र डडेल्धुराका खगराज एकअर्काप्रति टिप्पणी गरिरहन्थे।

तर माओवादी केन्द्र र एमालेबीचको एकता पश्चात नेकपा गठन भए यता यी दुबै नेताबीचको सम्बन्ध समधुर हुँदै गएको देखिन्छ । त्यसको पछिल्लो उदाहरण हो, १८ भदौमा नेता लेखराजको घरमा आयोजित कार्यक्रममा खगराजले व्यक्त गरेको विचार । थारु समुदायको पर्व अटवारीको अवसरमा आयोजित कार्यक्रमा खगराजले लेखराजको खुलेरै प्रशंसा गरे ।

यद्यपि, कार्यक्रममा लेखराज उपस्थित थिएनन्। लेखराज थारु अधिकारको लागि अग्र मोर्चामा गएर लड्ने नेता भएको जिकिर गर्दै खगराजले उनीबारे आफूले ढिलो गरी बुझेको बताए। खगराज नेकपाका सुदूरपश्चिम सहइन्चार्ज हुन् भने लेखराज स्थायी कमिटी सदस्य ।

लेखराजकै पहलमा थारु समुदायका धेरै अधिकारहरू संविधानमा उल्लेख भएको उनले बताए । लेखराज आफूले बुझेकोभन्दा फरक नेताको रुपमा पाउँदै गएको अनुभूति हुन थालेको खगराजको भनाइ छ।

हालै मात्र टीकापुरमा थारु समुदायको आयोजनामा सद्भाव कार्यक्रम भएको थियो।  कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले व्यक्त गरेको धारणाबारे टिप्पणी गर्दै नेता खगराजले आफू जिन्दगी भर उनकै गुटमा रहेर पनि बाबुरामले आफूलाई कहिल्यै संरक्षण नगरेकोले बाबुराम अरुको लागि बोल्ने कुरा कस्मेटिक भएको आरोप लगाए ।

लेखराजकी पत्नी निर्मला भट्टको पहलमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा कैलालीका सहइन्चार्ज दीपक देवकोटा, कन्चनपुरका सहइन्चार्ज देवीलाल चौधरी, सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री पठानसिंह बोहरा र कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

भिडियाे स्राेत : Godawari TV