लायन सिताराम बानियाँद्वारा पदभार ग्रहण

लायन सिताराम बानियाँद्वारा पदभार ग्रहण


काठमाण्डु – लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटरफलको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डुमा सम्पन्न पद हस्तान्तरण तथा ग्रहण कार्यक्रममा वर्ष २०२४–२५ का लागि चयन भएका अध्यक्ष लायन सिताराम बानियालाई अघिल्लो वर्षका अध्यक्ष लायन लिला धमलाले विधिवत् पद हस्तान्तरण गरेका छन् ।

वर्ष २०२३–२४ का अध्यक्ष धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वर्ष २०२३–२०२४ का रिजन चियर पर्सन लायन गुरु केदार बरालले गरेका थिए । लायन्सको नियमअनुसार क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।

पदभार ग्रहणपछि कार्यक्रममा बोल्दै २०२४–२५ का अध्यक्ष बानियाँले पोकली वाटरफल लायन्स सामाजिक कार्यमा सधैं सक्रिय रहने बताए । स्थानीय सरकार र विभिन्न संघसंस्थासँग भाइचाराको सम्बन्ध बनाउँदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताका साथ अगाडि बढाउने बताए ।

संस्थापक अध्यक्ष वर्षा राउतले मन्तव्य दिँदै आफ्नो कार्यकालमा भएका कामहरूको जानकारी गराएका थिए । उनले विद्यार्थीहरूका लागि पोशाक तथा शैक्षिक सामग्री वितरण, रक्तदान, दृष्टिविहीनका लागि सहयोग लगायतका विभिन्न १६ वटा कार्यक्रमहरू गरिएको बताइन् ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ का वर्तमान गभर्नर लायन शंकर शारदा, प्रथम भाइस गभर्नर लायन केशर भण्डारी, द्वितीय भाइस गभर्नर लायन अजय खनाल, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मधुकर उपाध्याय लगायतका लायन लिडरहरूको उपस्थिति थियो । गभर्नर शंकर शारदाले आफ्नो शुभकामना मन्तव्य राख्दै वार्षिक रूपमा क्लबले गरेका कार्यहरूको मूल्यांकन गरी क्लब तथा पदाधिकारीलाई जिल्ला तथा अन्तर्राष्ट्रियले पुरस्कृत गर्ने परम्पराले सदस्यहरूमा सधैं सक्रिय रहन ऊर्जा प्राप्त हुने र क्लबले लायन्स अन्तर्राष्ट्रियको मर्म अनुरूप सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

पूर्व गभर्नर लायन मधुकर उपाध्यायले शुभकामना मन्तव्य दिँदै नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाको लागि एक उत्कृष्ट थलो रहेको बताए । कार्यक्रममा वर्ष २०२४–२०२५ का जोन चियर पर्सन लायन दिनेश कार्की, लायन्स क्लब अफ काठमाण्डु हाइटका अध्यक्ष लायन डा. शीला बर्माले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।