भुक्तानी नदिएपछि रोकियो स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट

भुक्तानी नदिएपछि रोकियो स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट


काठमाण्डु – सवारी स्मार्ट लाइसेन्स छपाइ बन्द भएको छ । नेपालमा लाइसेन्स छाप्न मेसिन ल्याएको कम्पनीले वारेन्टीपछिको पैसा माग्दै हिजोबाट मेसिन नै बन्द गराएपछि लाइसेन्स प्रिन्ट रोकिएको हो ।

शनिबार करिब ४ हजार कार्ड छाप्ने तयारी रहेको बेलामा भुक्तानी माग्दै कम्पनीले कार्ड छाप्ने मेसिनलाई सफ्टवेयरमार्फत आटोमेटिक बन्द गराएपछि अहिले नयाँ लाइसेन्स छाप्ने काम रोकिएको हो ।

इटलीबाट आयात गरिएको ‘माटीका’ कम्पनीको यो मेसिनको ३ वर्षे वारेन्टी थियो । वारेन्टी सकिपछि दिनुपर्ने भुक्तानी नदिएपछि लाइसेन्स प्रिन्ट प्रक्रिया बन्द गराइएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले शनिबारबाट नयाँ लाइसेन्स प्रिन्ट रोकिएको बताए । सञ्चालन भइरहेको मास प्रिन्ट गर्ने प्रिन्टरमा प्रयोग हुने सफ्ट्वेयरबाट कन्टोल गरेर नेपालमा मेसिनले लाइसेन्स नै नछाप्ने बनाएका रिजालले बताए ।

वारेन्टी सकिएपछि २० प्रतिशत भुक्तानी दिनुपर्नेमा नदिएपछि आयातकर्ताले भुक्तानी मागेर मेसिन बन्द गराएका हुन् । १ करोड ५० लाख जति भुक्तानी गर्नुपर्ने भएकाले भुक्तानी दिन पैसा निकासा गर्न छलफल भइरहेको उनले बताए ।

नयाँ स्मार्ट लाइसेन्स दिन नसके पनि देशभरबाटै नयाँ लाइसेन्सको लागि लिखित र ट्रायल चलिरहेको छ । ट्रायल पास गरेकाहरू यातायात कार्यालयहरुले दिएको चिट बोकेर हिँडिरहेका छन् । बागमती प्रदेश अन्तरगत रहेका यातायात कार्यालयमा जेठ १ गतेदेखि ट्रायल रोकिएको छ ।