काठमाण्डु-स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै निर्वाचन आयोगले अनुगमन सुरु गरेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा निर्वाचन आचारसंहिता अनुगमन गर्न दुई अनुगमन टोली परिचालन गरिएको जानकारी दिइन् ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रचारप्रसारका क्रममा कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ मा आचारसंहिता उल्लंघन भएको भनी सूचना प्राप्त भएकाले दुई छुट्टाछुट्टै अनुगमन टोली परिचालन गरिएको उनले बताइन् ।
कीर्तिपुर नगरपालिकामा एसएसपी दीपक रेग्मीको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन टोली खटाइएको छ । त्यस्तै काठमाडौं– १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकारसहितको टोलीलाई कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा खटाइसकिएको छ ।
यसअघि आयोगले उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेको भन्दा फरक नपार्न निर्देशन दिएको थियो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गरिसकेको छ ।
आयोगले आचारसंहिता उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्छ ।
प्रतिक्रिया