उपनिर्वाचनको सरगर्मी बढ्दै, भोलि उम्मेदवारको मनोनयन दर्ता

उपनिर्वाचनको सरगर्मी बढ्दै, भोलि उम्मेदवारको मनोनयन दर्ता


काठमाण्डु-मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । स्थानीय तहका रिक्त ४४ स्थानमा उपनिर्वाचन हुँदैछ ।

सत्तारुढ एमालेले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवार चयन गर्न सकेका छैनन् ।

कांग्रेसले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लगाएको छ भने बाँकी दुई पदको अन्तिम निर्णय शनिवारसम्म गर्नेछ । कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन हुन लागेको हो ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जन, एमालेले डा.सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार उठाएको छ । रास्वपाले पनि कीर्तिपुरमा उम्मेदवार छनोट गरेको छैन ।

उपनिर्वाचनका लागि आइतवार उम्मेदवारी दर्ता हुँदैछ । सत्तामा सहकार्य भए पनि उपनिर्वाचनमा कांग्रेस र एमालेले तालमेल नगर्ने जनाएका छन् ।

विपक्षी माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् ।

निर्वाचन आयोगका अनुसार मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एक/एक गरी ४४ पदमा उपनिर्वाचन हुनेछ ।

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आइतवार उम्मेदवारको मनोनयन दर्ता, मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । आइतवार बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।