स्थानीय तह र मन्त्रालयमा कति दरबन्दी ? यस्ता छन् मन्त्रिपरिषदका ७ निर्णय

स्थानीय तह र मन्त्रालयमा कति दरबन्दी ? यस्ता छन् मन्त्रिपरिषदका ७ निर्णय


काठमाडौं – बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघ र स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृतसहित विभिन्न निर्णयहरू गरेको छ।

१) कर्मचारी दरबन्दी स्वीकृत

सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७) मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ। सोअनुसार केन्द्रमा रहँदै आएको तीन हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी दुई हजार ६५४ कायम गरिएको छ। केन्द्रमा रहने मन्त्रालयमा रहेका कर्मचारीको हालको संख्या र कायम गरिएको दरबन्दी –

मन्त्रालयहरूमा हालको दरबन्दी र कायम गरिएको दरबन्दी

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९८ २३२
२. अर्थ २४० १८६
३. उद्योग, वाणिज्य तथा आपूर्ति २२७ १५२
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ ११२ ११७
५. कानुन, न्याय तथा संसदीय ममिला १०४ १०४
५. कृषि, भूमि व्यवस्था तथा सहकारी ३३५ १७९
७. गृह ३०७ २२६
८. परराष्ट्र १४१ १४१
९. भौतिक पूर्वाधार तथा यातायात १०६ ९४
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ८० ८६
११. रक्षा ९८ ९८
१२. वन तथा वातावरण १६१ १३०
१३. शहरी विकास १०२ ७७
१४. शिक्षा, विज्ञान तथा प्रविधि २२६ १८७
१५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा ६७ ७२
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १०६ ८४
१७. संघीय मामिला तथा सामान्य प्रशासन ३३१ १७४
१८. सञ्चार तथा सूचना प्रविधि ७५ ८५
१९. स्वास्थ्य १११ १०६
२०. खानेपानी ७७ ६८
२१. युवा तथा खेलकुद ६६ ५६
कुल ३,२६० २,६५४

२) सेवा प्रवाहसम्बन्धी व्यवस्था

सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।

३) नमुना कानुन

स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानुन बनाएर पठाउने निर्णय पनि सरकारले गरेको छ।

४) जापानको सहयोग स्वीकृत

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनअन्तर्गत सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने रु ६८ करोड ६० लाख स्वीकार गर्ने निर्णय गरेको छ।

५) मन्त्रीहरूको भ्रमण स्वीकृत

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्याण्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ

६) क्याबिनेट डाक्टर नियुक्त

सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा. दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ।

७) घट्यो सार्वजनिक बिदा

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्य्दिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ। यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो। सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ। यस वर्ष कटौती भएका बिदा १२ दिन छन्। विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन्।  अन्नपुर्णपाेस्ट्मा खबर छ ।