काठमाण्डु-मंसिर १६ गते हुने रिक्त पालिकाको उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता सुरु भएको छ । आज बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म जारी रहन्छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।
आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपचुनावका लागि शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका थियो । ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।
सोमवार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मंगलवार मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यस्तै मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । मंसिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर र उपमेयर एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
उपनिर्वाचनका लागि आजैदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया