काठमाडौँ–घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।
विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिनुभयो ।
मन्त्री पुनको निर्देशन थियो, नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत औद्योगिक क्षेत्रमा विद्युत्भार कटौतीको अन्त्य गर्नुप¥यो । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी ग¥यो । कार्यकारी निर्देशक घिसिङका शब्दमा “औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण ग¥याँै । सोही परीक्षणको फलस्वरुप आज हामीले सफलता हासिल गरेका छौँ ।”
प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटाँैडा रहेका छन् ।
यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।
प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् ।
यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ ।
यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत्भार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विद्युत्भार पूर्ण रुपमा अन्त्य गरिएको छ ।
उहाँले भन्नुभयो, “आजदेखि देशभरको विद्युत्भार कटौती इतिहास भएको छ ।” अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिनुभयो ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताउनुभयो ।
“सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।”
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गर्नुभयो ।
कम विद्युत् खपत गर्ने उपकरण चलाउन आग्रह
प्राधिकरणले देशभर नै विद्युत्भार कटौतीको अन्त्य गरे पनि परम्परागत प्रसारण प्रणाली तथा बढी विद्युत् माग हुने समयमा प्राविधिक कठिनाइ तथा जटिलताका कारण समस्या आउने भन्दै त्यसमा सचेतता अपनाइदिन आग्रह गरेको छ ।
प्राधिकरणले ‘बिहान र बेलुकाको बढी विद्युत् माग हुने समयमा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न अनुरोध गरेको छ ।
उद्योगी–व्यवसायी खुशी
प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीमुक्त घोषणा गरेपछि उद्योगी व्यवसायी खुशी भएका छन् । उनीहरुले आगामी दिनमा औद्योगिक उत्पादन बढ्ने र रोजगारीको अवसरमा बढोत्तरी हुने तथा उत्पादकत्वमा वृद्धि हुने भन्दै हर्षित भएको प्रक्रिया दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको बताउनुभयो । “हामीले राजनीतिक स्थिरता र विद्युत्भार कटौतीको अन्त्य गर्न लामो समयदेखि माग गर्दै आएका थियौ । ती दुवै माग पूरा भएका छन् । अब औद्योगिक वातावरण बन्छ र आर्थिक विकासको युग पनि प्रारम्भ हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले प्रसारण तथा वितरण प्रणालीमा सुधार, तथा प्राधिकरणका तर्फबाट गर्नुपर्ने अन्य प्राविधिक कामसमेत समयमै गरिदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती नहुने व्यवस्था लागू भएकामा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले नियमित विद्युत् आपूर्ति तथा प्राविधिक रुपमा देखिएका कमी कमजोरीसमेत समयमै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूर्वअध्यक्ष मुरारकाले विद्युत् जाँदैन भनेर गराइएको विश्वास नै आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो ।
हावाहुरीले दियो तनाव
प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत्भार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ । हावाहुरीका कारण तराइ क्षेत्रमा मात्रै १०० मेगावाट विद्युत्को माग छ । प्राधिकरणका अनुसार महेन्द्रनगरबाट शुरु भएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी र अनारमनीसम्म पुगेको छ । हुरीबतासले बिगारेको विद्युत् प्रणाली मर्मतसम्भार तथा सुधार गर्न सबै क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको र केही स्थानमा समस्यासमेत समाधान भइसकेको जनाएको छ ।
-रमेश लम्साल/रासस
प्रतिक्रिया