अमेरिकाका लागि नेपाली राजदूत रेग्मीले अख्तियार प्रमुख बन्न खोज्दा …

अमेरिकाका लागि नेपाली राजदूत रेग्मीले अख्तियार प्रमुख बन्न खोज्दा …

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सधैं नेपाली राजनीति र सत्ताको वरिपरि रहन्छन् । उनी मुख्यसचिवबाट अवकाश भएपछि संयुक्त अधिराज्य बेलायतका राजदूत बनेका थिए ।

उनी बेलायतको राजदूत छँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएपछि उनलाई फिर्ता बोलाइयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा २०८१ असार ७ गते उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरियो तर सिफारिस कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी भारत जान पाएनन् ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले साउन १४ गते उनलाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गर्‍यो । भदौ २७ गते संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले कात्तिक २५ गते उनलाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेका थिए । अमेरिकाका लागि राजदूत रेग्मीले मंसिर १६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राजदूत पदको शपथ लिएका हुन् ।

शपथ लिएको साढे ३ महिना बितिसक्दा पनि शर्मा कार्यक्षेत्रमा गएका छैनन् । उनी काठमाण्डुमै दिन बिताइरहेका छन् । उनी अमेरिकाका लागि राजदूत नियुक्त भएपछि अमेरिकामा उथलपुथल नै भइरहेको छ । अमेरिकामा नयाँ राष्ट्रपति आएका छन्, अमेरिकी नयाँ नीतिको प्रभाव नेपालसम्म परिरहेको छ । यस्तोमा अमेरिकामा रही कूटनीतिक भूमिका निर्वाह गर्नुपर्नेमा उनले काठमाण्डु छाडेका छैनन् । अमेरिका जस्तो शक्तिशाली देशका लागि राजदूत हुँदा पनि पूर्वमुख्यसचिव रेग्मी अमेरिका किन गएनन् ? अमेरिकाका नीति परिवर्तन भइरहेको संवेदनशील समयमा राजदूत पदको शपथ लिइसकेपछि पनि उनी कार्यक्षेत्रमा नजानुको कारण के हो ? प्रश्न गम्भीर छ ।

कार्यक्षेत्र अमेरिका जान ढिलाइ गर्नुको कारणबारे काठमाण्डुपाटीले प्रश्न गर्दा राजदूत रेग्मीले आफू चैत ६ गते अमेरिका जान लागेको जानकारी दिए । उनले काठमाण्डुपाटीसँग भने, ‘अफिसियल तयारी गर्दा ढिलो भयो ।’ साढे ३ महिनासम्म के तयारी भइरहेको थियो भन्नेबारे उनले स्पष्ट खुलाउन चाहेनन् ।

के चाहन्छन् लोकदर्शन ?

गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका रेग्मीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । निजामती सेवामा कार्यरत रहँदा उनी जहिल्यै आकर्षण जिम्मेवारीमा रहे । अर्थ मन्त्रालयको बजेट महाशाखाको सहसचिव, वन मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको सचिव, गृह मन्त्रालयको सचिव हुँदै उनी मुख्यसचिव बने ।

उच्च स्रोतका अनुसार मुख्यसचिवबाट अवकाश भएपछि उनी प्रभावशाली पदको खोजीमा छन् । सरकारको प्रमुख प्रशासनिक पदाधिकारी मुख्यसचिव बनिसकेका उनी पुनः प्रभावशाली पदमा फर्किन चाहन्छन् । त्यो भूमिकाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदलाई उपयुक्त मानिन्छ । अख्तियार प्रमुखले मुख्यसचिव समेतमाथि समेत छानबिन गर्नसक्ने र निर्देशन गर्नसक्ने हुन्छ ।

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वाेच्चमा विचाराधीन रहेको र नियमित पेशीमा चढेको अवस्थामा उनमा अख्तियार प्रमुख बन्ने महत्वाकांक्षा पलाएको स्रोतको दाबी छ । सर्वाेच्चले अख्तियार प्रमुखसहित पदाधिकारीको नियुक्तिलाई अवैधानिक ठहर गर्दै बदर गरेको अवस्थामा नियुक्तिका लागि सम्भावित उम्मेदवारको खोजी गर्न बिचौलियाहरू सक्रिय भइसकेका स्रोतको दाबी छ । ‘अदालतमा विचाराधीन मुद्दा भएकाले नियुक्ति बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ,’ स्रोतले भन्यो, ‘सोही आधारमा बिचौलिया सक्रिय भइसकेका छन् ।’

सधैं सत्ताको वरिपरि रहेका, निजामतीबाट अवकाशपछि पनि सरकारको रोजाइँमा पर्दै आएका पूर्वमुख्यसचिव रेग्मीमा पनि अख्तियार प्रमुख बन्न पाए हुन्थ्यो भन्ने महत्त्वाकांक्षा पलाएको स्रोतको दाबी छ ।

निजामती सेवामा रहँदा उनले गृह मन्त्रालयमा मन्त्री बिमलेन्द्र निधि, अर्थ मन्त्रालयमा मन्त्रीद्वय वर्षमान पुन र विष्णु पौडेलसँग काम गरिसकेका छन् । गृह र अर्थसचिव हुँदा उनी कसैसँग चिढिएनन् । ‘उहाँ राजनीतिक नेतृत्वलाई मिलाउन सक्ने क्षमताको हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘यदि अख्तियार प्रमुख पद रिक्त भयो भने उहाँ सबै दलको साँझा उम्मेदवार जस्तो बन्नुहुन्छ होला ।’ अख्तियार प्रमुख बन्न राजदूत शर्माले लबिङ समेत गरिरहेका स्रोतको दाबी छ ।

उनीसँगै पूर्वमुख्यसचिवद्वय राजेन्द्रकिशोर क्षेत्री र शंकरदास बैरागी अख्तियारको प्रमुख आयुक्त र नेपाल प्रहरीका पूर्वआईजीपी धिरजप्रताप सिंह आयुक्त बन्ने दौडमा रहेका बताइन्छ ।