काठमाण्डु – मधेश केन्द्रित दलहरू एकीकृत हुन खोजेका बेला महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ ।
वार्ता समितिको सदस्यमा उपाध्यक्षहरू उमाकान्त झा, रामप्रकाश चौधरी, महासचिवहरू डा. सुरेन्द्रकुमार झा र मनिषकुमार मिश्र छन् ।
विभिन्न संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि विभिन्न राजनीतिक शक्तिबीच सहकार्य तथा कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले जनाएको छ ।
यसअघि अशोक राई नेतृत्वको जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पार्टी उपाध्यक्ष डा. शिवजी यादवको नेतृत्वमा समिति गठन गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
जनता प्रगतिशील पार्टी (जप्रपा) ले गठन गरेको वार्ता समितिले सबै पार्टीसँग संवाद गरिसकेको छ । पार्टीको संवादपछि सबै दलहरूले आ–आफ्नो पार्टीमा वार्ता समिति गठन गरिरहेका छन् । वार्ता र संवादपछि केही दिनमै सहकार्यका लागि मोर्चाको घोषणा गर्ने तयारी छ ।
प्रतिक्रिया