बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे

बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे


नगरकोट : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताएका छन् । भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने भएकाले समुदायसँगै शिक्षकले पनि ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले देशको समसामयिक परिस्थितिबारे विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीलाई आलोचनात्मक तरिकाले सोच्न सक्ने बनाउन जरुरी भएकाे बताए ।  कार्यक्रममा बिजुक्छेले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि विभिन्न किसिमले सहयोग गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरेका थिए ।

कार्यक्रममा मध्यपुरठिमीका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय तहमा आएको माध्यमिक तहसम्मको शिक्षालाई नगरपालिकाले ग्रहण गर्दै अघि बढेको बताउँदै निजी र सामुदायिक विद्यालयबीचको भिन्नता हटाउने काममा अग्रसर बन्ने बताए ।

इसिडीदेखि कक्षा १२ सम्म गरी ५०४ छात्र र ४६६ जना छात्रा गरी कूल ९७० विद्यार्थी तथा ४० जनशक्ति रहेको उक्त विद्यालयको वार्षिकोत्सवमा शिक्षाका विभिन्न व्यक्तित्वले मध्यपुरठिमीको शिक्षा विकासमा आदर्श स्कूलले खेलेको भूमिकाको चर्चा गरे ।