काठमाण्डु-खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भएको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दुई थरी मूल्य तय गर्न कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उपभोक्तालाई सहुलियत दिनका लागि दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको भट्टले बताए । राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने तयारी गरेको निगमले जनाएको छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन् ।
हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलकाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ ।
यसैबीच, खाना पकाउने एलपी ग्यासको आयातमा २ अर्ब रुपैयाँले कमी आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनामा ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरको ४ लाख ८१ हजार ६ सय २५ टन ग्यास आयात भएको छ ।
गत आर्थिक वर्षको उक्त अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँबराबरको ४ लाख ७४ हजार ५७ टन ग्यास आयात भएको थियो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको हो ।
प्रतिक्रिया