रथीमा बढुवा सिफारीससंगै उपरथी प्रभुराम शर्माको प्रधानसेनापति बन्ने बाटो खुला

रथीमा बढुवा सिफारीससंगै उपरथी प्रभुराम शर्माको प्रधानसेनापति बन्ने बाटो खुला


रोशन खड्का, काठमाडौं– सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी प्रभुराम शर्मालाई रथी पदमा बढुवा लागी नाम सिफारीस गरेको छ । हालका बलाध्यक्षरथी गौरव टण्डुलको ठाउंमा सैनिक मुख्यालयले उपरथी शर्माको नाम सिफारीस गरेको हो । रथी तण्डुल उमेर हदका कारण यही वैशाख १९ मा अवकास पाउंदैछन् । तण्डुल बिहिवार विदामा बस्न लागेको सैनिक स्रोतको दावी छ । सेनामा अवकासमा जानु १५ दिन अघि विदामा बस्ने प्रचलन छ ।

बलाध्यक्षकृतरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले बुधवार शर्माको नाम सिफारीस गर्दै सात दिने सुचना समेत प्रकाशित गरेको हो । बलाध्यक्षरथी तण्डुलले बुधवार प्रधानसेनापति पुर्णचन्द्र थापासहित उच्च अधिकारीसंग भेटेर बिदामा बस्न लागेको जानकारी समेत दिएका छन् ।

उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । सरकारले यसअघि उनि सेनाको युद्धकार्य महानिर्देशक रहेका बेला१ वर्ष २ महिना १५ दिनका लागी पदावधी थप गरेको थियो ।  शर्मा रथीमा बढुवा भएसंगै उनको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् ।

हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन् ।

सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । उनको ठाउंमा वरियताका आधारमा उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की रथीमा बढुवा हुनेछन् । गिरीको रथीमा अवकाससंगै शर्मा प्रधानसेनापतिपछि सेनाको सेकेन म्यान बन्नेछन् । उपरथी ईश्वर हमाल अनडफको फोर्स कमाण्डरमा छनौट भइसकेका छन् ।

अर्का उपरथी कार्की भने हाल सेनाको युद्धकार्य महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । वरियतामा हमाल नै अघि भएकाले गिरीको ठाउंमा उनि नै सेनाको तीन तारे वन्ने सम्भावना छ ।