लुम्बिनी प्रदेश सरकारले गर्‍यो यी ३ निर्णय

लुम्बिनी प्रदेश सरकारले गर्‍यो यी ३ निर्णय


दाङ – लुम्बिनी प्रदेश सरकारले ३ वटा निर्णय गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

निर्णयसँगै अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुनेछ । बैठकले पटके जाँचपासदेखि राजस्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।

संशोधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, संवर्द्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्नेछ । प्रदेश, स्थानीय सरकार र किसानहरूको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो ।

बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो भने सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदको जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । मन्त्रिपरिषद् बैठकले बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।