न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीमा लुम्बिनी नवौं स्थानमा

न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीमा लुम्बिनी नवौं स्थानमा


काठमाण्डु-विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले शीर्ष १०औँ गन्तव्यमा राखेको छ । पत्रिकाले सन् २०२५ मा ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको हो ।

हालै सार्वजनिक यस गन्तव्यको सूचीले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् ।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।

धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन् ।

लुम्बिनीलाई द न्यू योर्क टाइम्सको २०२५ को यात्रा गन्तव्य सूचीमा यसको ऐतिहासिक र आध्यात्मिक महत्त्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ । यसलाई बुद्धको जन्मस्थल भएको रुपमा पनि उल्लेख गरिएको छ ।